स्थानीय निकायका कर्मचारी आन्दोलीत हुँदा सेवाग्राही मर्कामा

मधुपौडेल
बाँके,फागुन ४-स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई परेशानी भएको छ ।  देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका स्थानीय निकायका कर्मचारीले आइतबारदेखि दिनैभरि काम बन्द गरेका हुन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला विकास समिति, कोहलपुर नगरपालिका र गाविस कार्यालयमा कर्मचारीहरुले कामकाज रोकेर आन्दोलन बढाएका छन् । सेवा लिन कार्यालय पुग्ने गरेका सेवाग्राही कर्मचारीको आन्दोलनका कारण निराश भएर फर्किरहेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसीयसन नेपालगञ्ज उपमहानगरपालिका, नेपाल नगरपालिका एशोसीयशन, गाविस कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ जिवीस ईकाई समिति बाँके र स्थानीय निकाय कर्मचारी संघ जिल्ला कार्यसमिति बाँकेको संयुक्त अगुवाईमा विभीन्न माग राखी आन्दोलन चकाईएको हो ।

अस्तीदेखि स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, जिल्ला इन्जीनियर लगायतलाई कार्यालय प्रवेश समेत निषेध गरिएको छ । मागसहितको कालो व्यानर मुल गेटमा टाँगेर कर्मचारीहरुले नाच गान गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । आफना मागहरु पुरा नहोउञ्जेलसम्म आन्दोलन जारी रहने नेपाल नगरपालिका कर्मचारी एशोसीयशन नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक अध्यक्ष अच्युत राज आचार्यले जानकारी दिनु भयो । सरकारले आज आन्दोलनरत पक्षसँग वार्ता गर्ने जनाएको छ तर समाचार तयार पारुञ्जेल कुनै पहल गरिएको छैन ।