बालकोटमा ‘रिल्याक्स’ गर्दै छु : केपी ओली

फाईल तस्विर!!

काठमाडौं,साउन,२-निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि रिल्याक्स गर्ने अवसर पाएको बताउनुभएको छ ।

शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।

ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गर्नुभएको हो । भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफलका लागि भेटवार्ता गर्दै सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज कुनै राजनीतिक विषयमा छलफल भएन, उहाँ(ओली)ले सहकार्य जारी राख्नुपर्छ र केही दिनमै राजनीतिक भेटवार्ता बस्नुपर्छ भन्नुभएको छ ।’

ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए । भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ ।

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।