कम्यूनिष्ट गठबन्धनले एकीकृत चुनावी अभियान गर्ने

काठमाडौं,कार्तिक,१८-

पार्टी एकताको लक्ष्यसहित बृहत चुनावी गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले काठमाडौं उपत्यकामा संयुक्त चुनावी अभियान गर्ने भएका छन् । आजदेखि नै संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्न लागिएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले चुनावमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने बताउनुभयो । काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर चुनावी अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा चुनावी अभियान सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो । कम्यूनिष्ट गठबन्धनले काठमाडौंका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । गठबन्धनले संयुक्त रुपमा चुनाव परिचालन समिति गठन गर्ने जनाइएको छ ।