आज आमाको मुख हेर्ने दिन,कोरोनाका कारण वचनबाटै आमालाई खुशी बनाउदै

फाईल तस्विर !!

काठमाडौं,बैशाख,२८-आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी।वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकोमा गत वर्ष जस्तै यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता छ ।