- विराटनगर,कात्तिक,१८-
नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।
पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालको दावी छ । ‘नेपालमा यत्ति धेरै बृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन ।’ डा.नेपाल भन्छन् ‘९५ बर्षीय बृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।
यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोसन राउतले ९० बर्ष हाराहारिका कतिपय बृद्धबृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको छ भन्ने यकिन नभएको बताए । बयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिव ६० देखि १०० पटक धड्कन्छ ।
मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुँनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा बिधुतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउँन सहयोग गर्छ ।
जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउँन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० बर्ष उमेरका ब्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको पाईन्छ । मुटुरोगको उपचार गर्दै आएका राजधानीका केहि अस्पतालमा ९० बर्ष हाराहारीका बृद्धबृद्धालाई पेसमेकर राखिएको विरलै मात्र भेटिएको छ । तर, नोबेलले ९५ बर्षका बृद्धलाई सफलतापूर्वक पेसमेकर राखेर निको बनाएको हो ।
नोबेल अस्पतालको शै्यामा भेटिएका बृद्ध देवानले आफुलाई पहिलेको तुलनामा धेरै सन्चो भएको प्रतिक्रिया दिए । ‘पहिले त मरिहालिन्छ कि जस्तो भएको थियो । तर, अहिले धेरै ठिक भएको छ ।’ देवानले भने । पेसमेकर लगाउँदा छातिमा चिरेर ब्याट्री राख्ने गरिन्छ । धेरै बृद्ध ब्यक्तीको छाला कमजोर हुँने भएकाले चिरेको ठाउँमा सिलाई गर्न गाह्रो हुँने र घाउ निको हुँन गाह्रो पर्ने हुँदा समस्या हुन्छ ।
बृद्धअवस्थामा अन्य रोगहरुको पनि संक्रमण हुँने भएकाले थप जटिल हुँने र अप्रेशन असफल भएर बिरामीको मृत्यु हुँनसक्ने खतरा बढी भएतापनि नोबेलले देवानलाई निको बनाएपछि उनका आफन्त पनि हर्षित छन् । ‘वुवालाई ठिक होला कि नहोला भनेर धेरै डर लागेको थियो । तर, राम्रो उपचार पाएर अहिले वुवाको अवस्था धेरै सुधार भएको छ ।
छोरा गोपालले खुशी हुँदै भने ‘जुन विश्वास गरेर नोबेल आएका थियौ, त्यस्तै राम्रो उपचार पायौ ।’ उपचार पश्चात निको भएर देवान अहिले घर फर्किएका छन् । नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी भएका बिरामीहरुलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी विश्वकै दुर्लभ र जटिल रोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको छ । स्तरीय डाक्टर र अत्याधुनिक उपकरणको ब्यवस्थापनका कारण गुणस्तरीय उपचारका क्षेत्रमा नोबेल अस्पताल अब्बल सावित भएको अस्पताल सञ्चालक डा. सुनील सर्माको भनाई छ ।