साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्ने

भारतको उपाधीमा ह्याट्रीक गर्ने दाउ

काठमाण्डौं,भाद्र,१४-

भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।आयोजक भारत र नेपालबीचको फाइनल भिडन्त कल्याणी स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै असफल बन्दै आएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न रणनीतिका साथ मैदान उत्रने बताउँछन् ।

‘भारतीय टिम निकैनै बलियो छ । उसका विङ्गर धेरै बलिया छन् ।’ फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।’

बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो । नेपाल पहिलो खेलमा भारतसँग व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि भने नेपालले लगातार जित निकाल्दै फाईनल पुगेको हो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–०, तेस्रो खेलमा बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यता, भारत भने उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा दुवै पटक नेपाललाई फाइनलमा हराएको थियो ।

यसैबिच : भारतीय प्रशिक्षक विविआनो फर्नान्डेसले फाइनल भिडन्त भने उद्घाटनमा भन्दा निकै फरक हुने बताए । उनी भन्छन्, “फाइनल एकदम फरक हुनेछ । हामी कहिल्यै फर्केर अतितलाई हेर्दैनौं । नेपालले प्रत्येक खेलहरुमा आश्चर्यजनक रुपमा सुधारिएको प्रदर्शन गर्दै आएको छ ।

हामीले उनीहरुको खेल हेरेका छौं र उनीहरु हाम्रा लागि निकै खतरनाक साबित हुन सक्छन् । नेपालले पछिल्ला दुई खेलहरुमा निकै शानदार खेल खेलेको छ । त्यसैले पनि हामीले नेपाल विरुद्ध उद्घाटन खेलमा हात पारेको जितलाई आधार मानेर उनीहरुलाई हलुका रुपमा लिन तयार छैनौं ।