प्रदेश २ मा हुने चुनावको उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

काठमाडौं, भदौ,२०-

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि भोली(बुधबार) हुने उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ ओटा स्थानीय तहमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा भएको र निर्भिकताका साथ उम्मेदवारी दर्ता गर्न आग्रह गर्नुभयो ।

उम्मेदवारी दर्ताको समय मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तय गरिएको छ ।प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनवाट ६ हजार ६२७ जना जनप्रतिनिधि चयन हुनेछन् । १३६ स्थानीय तहको निर्वाचनका लागि २ हजार १६६ मतदानस्थलमा ३ हजार ५७८ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० कर्मचारी परिचालन गरेको जनाएको छ ।आयोगले बुधबार हुने उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन र मनोनयन कार्यक्रमलाई व्यवस्थित तथा शान्तिपूर्ण बनाउन राजनीतिक दल, मतदाता र सम्पूर्ण उम्मेदवारलाई आह्वानसमेत गरेको छ ।