ला लिगाको अन्तिम खेलमा मेस्सीको दुईवटा नयाँ कीर्तिमान

बार्सिलोनाका कप्तान लियोनेल मेस्सी

काठमाण्डौं,साउन,५-स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले डिर्पोटिभो आलाभेसविरुद्ध दुईवटा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । आलाभेसलाई ५-० गोलअन्तरले हराउने क्रममा मेस्सीले दुई गोल गरे ।

योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक लिगमा सर्वाधिक गोलकर्तालाई दिइने पिचीची अवार्ड हात पार्न सफल भएका छन् । गत सिजन एथ्लेटिक बिल्बाओका टेल्मो जाराले बनाएको ६ वटा पिचीची अवार्डको कीर्तिमान बराबरी गरेका मेस्सीले यो सिजन उक्त कीर्तिमान भंग गर्न सफल भएका हुन् ।

मेस्सीले यो सिजन लिगमा ३३ खेलबाट २५ गोल गर्न सफल भए । दोस्रो स्थानमा रहेका रियल म्याड्रिडका करिम बेन्जेमाभन्दा मेस्सीले चार गोलब ढी गर्न सफल भए ।

यता, मेस्सीले आफ्नो पूर्वसहकर्मी ज्याभीको कीर्तिमान पनि भंग गरेका छन् । एकै सिजनमा सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने ज्याभीको कीर्तिमानलाई उनले भंग गरेका हुन् ।

खेलमा अर्जेन्टिनी खेलाडीले १७ वर्षीय विंगर अन्सु फातीलाई गोलको अवसर सिर्जना गरेसँगै नयाँ कीर्तिमान बनाउन सफल भए । यो सिजन लिगमा उनको २१ औँ एसिस्ट थियो । ज्याभीले सन् २००८–०९ सिजनमा २० वटा एसिस्टको कीर्तिमान बनाएका थिए ।

गत हप्ता रियल भालाडोलिडविरुद्धको खेलमा उनी एकै सिजन २० वा सोभन्दा बढी गोल र एसिस्ट दुवै गर्ने पहिलो खेलाडी बनेका थिए ।