जसपामा तानातान:महन्थलाई छाडेर उपेन्द्र समूहको बैठकमा पुगे चार सांसद

फाईल तस्विर !!
काठमाडौँ,साउन,२-जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र  नेता तानातान तीव्र भएको छ। पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो। 

शनिबार मात्रै बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दल बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन्। स्रोतका अनुसार उक्त बैठकमा यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु रुही नाज, अमृता अग्रहरि, प्रमोद साह र रानी मण्डल सहभागी भएका हुन्।

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले करिब २० जना सांसदहरु आफ्नो पक्षमा तानेको थियो। तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तान्न थालेको हो। पछिल्लो पटक ओली पनि सत्ताबाट बाहिरिएपछि उपेन्द्र यादव समूह देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ।

यस्तोमा यादवले देउवालाई विश्वासको मत जुटाउने रणनीतिसहित सांसदहरु तान्न थालेको छ। यादवको यही प्रयासस्वरुप आज बसिरहेको दलको बैठकमा तीनजना सांसद सहभागी भएका हुन्। उक्त बैठकमा सहभागी रुही नाज संघीय समाजवादी पार्टीबाटै विजयी भएकी थिइन्। तर उनले ओलीलाई सघाउने ठाकुरको निर्णयमा समर्थन जनाउँदै यसअघि यादवलाई छाडेकी थिइन्।

आजको बैठकमा सहभागी अन्य तीन सांसदहरु प्रमोद साह, अमृता अग्रहरि र रानी मण्डल पूर्व राजपाकै हुन्। उनीहरुलाई पनि तानेपछि यादवले आफ्नो पक्षमा कार्यकारिणी परिषद् र दलमा पनि बहुमत पुर्‍याउने प्रयासलाई तीव्र पारेका छन्। 

यादव समूहका एकजना नेताका अनुसार अझै केही सांसदहरुले ठाकुर समूहलाई छाड्दैछन्। त्यसरी ठाकुर समूहलाई छाड्न तयार रहेकाहरूमा राजकिशोर यादव, नरमाया ढकाल र प्रमोद साहसहित छन्। उनीहरुले यादव समूहका दोस्रो तहका नेताहरुसँग वार्ता गरिसकेका छन्। 

तर अध्यक्ष यादवसँगको वार्ता सम्भव नभएपछि उनीहरु आजको बैठकमा सहभागी भएनन्। यादवसँग वार्ता भइसकेपछि यी तीनजना सांसद पनि ठाकुर समूहलाई छाडेर आउने तर्खरमा रहेको स्रोतले जनाएको छ। यादवले सत्तामा जाने तर्खर गरेसँगै ठाकुर समूहका धेरैभन्दा धेरै सांसद तानेर दल विभाजनका क्रममा पनि आफूलाई बलियो बनाउने रणनीति लिएका छन्।