निरन्तर वर्षातको कारण ओखलढुंगामा पहिरो

दुई घर बगायो ५ घर जोखिममा

काठमाण्डौं,साउन,२२-
ओखलढुंगामा निरन्तरको बर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पर्ने पात्लेमा सोमबार राति पहिरो जादाँ स्थानीय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो ।

पहिरोमा परी कुनै मानविय क्षती नभएको भएपनि शेर्पाको एक हल गोरु र एउटा कुकुर पुरेको मोलुङ गाँउपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो ।गाउँमाथीबाट पहिरो खसेकाले सो स्थानका तत्लो भेगका अन्य ५ घर समेत पहिरोका जोखिममा परेका छन् ।

पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताउनुभयो । राति अचानक पहिरो खसेपछि स्थानीयहरु भागेर बचेको उनिहरुको भनाई छ । अहिले पानी परिरहेकाले उक्त स्थानमा नजान वडा अध्यक्षहरुले आग्रह गरेको छ ।पीडित परिवारलाई राहतका लागि पहल भैरहेको जनाइएको छ ।