प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं,भदौ,३-

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको डेढ वर्षपछि पहिलोपटक डाकेको सर्वदलीय बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि खतरा उत्पन्न भएको महसुस भएको भन्दै सँगै लडेका शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।उहाँले देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि सबै पक्ष एकताबद्ध भएर जानुपर्ने बताएको जनाइएको छ ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित संघीय समाजवादी पार्टी, राजपालगायतका दलका शीर्ष नेताहरु सहभागी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र अरु दलका नेताहरुले पनि उपलब्धिहरु गुम्न नदिन एकताबद्ध हुने प्रतिबद्धता जनाएको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आफू यही भदौ ५ गते फेरि सिंगापुर जान लागेको जानकारी गराउनु भएको थियो  ।

बैठकमा संक्रमणकालीन न्यायनिरुपणका विषयमा छलफल भएपनि ठोस निर्णय नभएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो ।बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीसित भारतबाट आएका योगी सद्गुरुले भेट गर्नुभएको थियो ।