नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?

काठमाण्डौं,भाद्र,३-

मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् ।

नियमित कप्तान विराजको फिटनेसमा समस्या रहेको भन्दै प्रशिक्षक कालिनले २३ सदसीय टिम बाहिर राखेका हुन् । तर, नेपाली टोलीमा विमल घर्ति मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् । यसअघि कालिनले नियमित स्ट्राइकर विमललाई टिम बाहिर राखेका थिए ।

प्रशिक्षक कालिनले मलेसिया भ्रमणका लागि कप्तान विराजसँगै उपकप्तान किरण कुमार लिम्बु र रोहित चन्दलाई पनि टिम बाहिर राखेका छन् । किरण जापानमा ट्रायलको लागि रहेका छन् भने रोहित इन्डोनेसियन लिगमा व्यस्त छन् ।

मलेसिया भ्रमणका लागि कप्तान र उपकप्तान नै टिम बाहिर रहेपछि अब मैदानमा नेपाली टोलीको नेतृत्व कसले गर्छ भन्ने विषयको चर्चा सुरु भएको छ ।

मलेसिया भ्रमणमा नेपालले नयाँ कप्तान पाउने पक्का छ । तर, मुख्य प्रशिक्षक योहान कालिन सजिलै नयाँ कप्तान चुन्न चाहदैनन् । प्रशिक्षक कालिन सम्भावित कप्तानको नाम पनि बाहिर ल्याउन चाहदैनन् ।

प्रशिक्षक कालिनलाई फिटनेस, अनुशासितसँगै सम्पुर्ण खेलाडीलाई नेतृत्व गर्न सक्ने कप्तानको खाँचो छ । त्यसैले पनि कालिन मलेसियाको भ्रमणको केहि अघि मात्रै कप्तानको टुंगो लगाउने सोचमा छन् ।

‘सम्भावित खेलाडी हुन पनि सक्छ नहुन पनि सक्छ । तर, नाम लिन मिल्दैन ।’ नयाँ कप्तानबारे खेलपाटीसँग कालिनले भने । प्रशिक्षक कालिन परिपक्व कप्तानको खोजीमा रहेका छन् । 

नेपाली फुटबलमा कप्तान छान्ने पुरानै नियम छ, टिमको सिनियर खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने । तर, कालिनले के गर्छन् त्यो भने हेर्न केहि समय कुर्नु पर्ने भएको छ ।

यस पटक नेपाली फुटबलमा फिटनेस र नेतृत्वका लागि राम्रो छबि बनाएका तीन सिनियर खेलाडी रहेको छन् । जो नयाँ कप्तानका लागि हकदार पनि छन् ।

यस पटक नयाँ कप्तानको लागि सम्भावित खेलाडीमा डिफेन्सिफ मिडफिल्डर बिक्रम लामा, मिडफिल्डर सुजल श्रेष्ठ र गोलरक्षक विकेश कुथु रहेका छन् ।

बिक्रम लामा –

बिक्रम मलेसिया भ्रमणका लागि नेपाली टोलीका सम्भावित कप्तान हुन् । राष्ट्रिय टिमको नयाँ कप्तानका लागि पहिलो रोजाईमा बिक्रम पर्न सक्ने छन् । किनकि, बिक्रमसँग खेलाडीलाई नेतृत्व गर्न सक्ने, खेलाडीमा आफ्नो प्रभावमा पार्न सक्ने र फिटनेस पनि राम्रो रहेका छन् ।

बिक्रम राष्ट्रिय टिमका अनुभवी र सिनियर खेलाडी पनि हुन् । १८ महिनाको चोट पछि गत वर्षको मंसिरबाट मैदान फर्किएका बिक्रम त्यसयता नियमित रुपमा टिममा रहँदै आएका छन् ।

बिक्रम नेपालले एएफसी सोलिडारीटी कप, १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण र बंगबन्धु गोल्डकप जित्दाका मुख्य खेलाडी थिए । १२ औं सागमा बिक्रम उपकप्तानको भूमिकामा थिए भने एक खेलमा कप्तानी सम्हालेका थिए ।

सन् २०१२ बाट राष्ट्रिय टिमको नियमित खेलाडी रहेका बिक्रम नेपाली राष्ट्रिय टिमले पाउने सम्भावित नयाँ कप्तान हुन् । घरेलु फुटबलमा बिक्रम थ्रीस्टार क्लबको नियमित कप्तान हुन् ।

सुजल श्रेष्ठ –

मलेसियन क्लबसँगको खेलमा कप्तानी पाउने सम्भावित अर्को नाम हो – सुजन श्रेष्ठ ।

मलेसियाको भ्रमणका लागि नेपाली टोलीमा रहेका खेलाडी मध्ये सुजन निकै अनुभवी खेलाडी हुन् । बिक्रम लामाले देशको लागि धेरै क्याप जितेपनि सुजल विक्रम भन्दा एक वर्ष अगाढी राष्ट्रिय टिममा डेब्यु गरेका खेलाडी हुन् ।

यद्यपि सुजलले अहिलेसम्म राष्ट्रिय टिमको कप्तान तथा उपकप्तानी गर्न पाएका छैनन् । नेपालले एएफसी सोलिडारीटी कप जित्दा सुजल मुख्य खेलाडी रहेका थिए ।

फिटनेसमा निकै बलियो रहेका सुजलसँग खेलाडीलाई नेतृत्वमा राख्न सक्ने क्षमता रहेको छ । त्यसैले उनलाई पनि राष्ट्रिय टिमको सम्भावित नयाँ कप्तानको रुपमा हेरिएको छ । घरेलु फुटबलमा सुजल मनाङ मर्स्याङ्दी क्लबका उपकप्तान समेत हुन् ।

विकेश कुथु –

राष्ट्रिय टिमको नयाँ कप्तानको रुपमा हेरिएका अर्का खेलाडी हुन – विकेश कुथु । राष्ट्रिय टिमको लागि कम खेल खेलेपनि विकेश अनुभवी खेलाडीमा पर्छन । 

नियमित गोलकिपर किरणको कारण विकेशले खासै मैदान उत्रने मौका पाएका छैनन् । तर, पाएको अवसरमा उनले आफुलाई प्रमाणित गरेका छन् । १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्दा विकेश नेपाली टोलीमा रहेका थिए । 

त्रिभुवन आर्मी क्लबका पहिलो रोजाइका विकेशले उमेर समूहमा भने नेपाली टिमको कप्तान र उपकप्तान समाल्ने अवसर पाइसकेका छन् ।

मलेसियाको क्लबविरुद्ध पहिलो रोजाइमा पर्ने विकेशसँग फिटनेस र खेलाडीको नेतृत्व गर्न सक्ने क्षमता भएको कारण सम्भावित कप्तानको रुपमा हेरिएको छ । -साभार खेलपाटीबाट