भोटेकोशी नदीमा भीषण बाढी : बाढीले रसुवाको बेलिब्रिज बगायो

रसुवा,भाद्र,२-

रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।

राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।रसुवा भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सुचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताउनुभयो । उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताउनु भएको छ । 

यसैबिच :बाढीले रसुवामा बेलिब्रिज बगाएको छ ।अविरल वर्षापछि टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको जानकारी दिनुभयो  ।

पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । प्रजिअ भण्डारीका अनुसार, अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गरिरहेको बताउनुभयो ।