माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो

काठमाडौं, असोज ३१-

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै राप्रपाका मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ ।

उहाँले आज साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाउनु भएको हो । माओवादी केन्द्रबाट सरकारमा सामेल सबै मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी खोसिएको छ ।

प्रधानमन्त्री देउवाले हालै सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेदवारी दिनुभएको हो । थापाले उपप्रधानसहित बिनाविभागीयमन्त्रीकोरुपमा शपथ लिनु भएको थियो ।

यसअघि, माओवादीका महेन्द्रबहादुर शाही ऊर्जामन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।प्रधानमन्त्री देउवाले राप्रपाबाट सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीहरुलाई मन्त्रालय तोक्नु भएको हो ।

यसअघि, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमात्र आफूसँग राखेका प्रधानमन्त्री देउवाले सोसहित माओवादी केन्द्रका मन्त्रीहरुले सम्हाल्दै आएका मुख्य दुई गृह र परराष्ट्र मन्त्रालय पनि अहिले आफूसँगै राख्नु भएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट यसअघि विज्ञान तथा प्रविधिमन्त्री रहेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि, स्वास्थ्यमन्त्री माओवादीका गिरिराजमणि पोखरेल थिए ।

माओवादीबाट उपप्रधानमन्त्री बनेका कृष्णबहादुर महराको उपप्रधानमन्त्रीको हैसियत भने यथावत् छ । मन्त्रीहरुको रोलक्रम पनि परिवर्तन गरिएको छैन ।