काठमाडौं,असोज,३१-
नेपाली कांग्रेसले सरकारले निर्वाचन सार्न लागेको आरोपको खण्डन गरेको छ। गृहमन्त्री जनार्दन शर्माको आरोपबारे संसदीय समितिको बैठकबाटै प्रतिक्रिया दिँदै कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले टिकट बाँडफाँटमा रहेको दलको नेतृत्वमा रहेको सरकारले चुनाव सार्न लागेको आरोप लगाएर गृहमन्त्रीले आफ्नो भित्री चाहनामात्र प्रकट गरेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो हामी निर्वाचनका लागि उम्मेदवार छान्न र टिकट दिन व्यस्त छौं, अहिले पनि हामी बैठकमै छौं,’ डाक्टर महतले भन्नुभयो ‘यो सरकारमा बसिरहन माओवादी केन्द्रले गरेको राजनीति हो। गृह मन्त्रीको आरोप बच्चाको जस्तो छ।’ उहाँले सरकारमा बसिरहनकै लागि जस्ता पनि अभिव्यक्ति दिन तयार हुनु गृह मन्त्रीको ‘बचपना’ भएको बताउनुभयो ।
नेपाली कांग्रेसको उम्मेदवार छान्न संसदीय समितिको बैठक बालुवाटारमा जारी छ। कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिले समानुपातिक तर्फको बन्दसूची टुंग्याएर निर्वाचन आयोगमा बुझाइसकेको छ भने प्रत्यक्षतर्फ दुर्गमका जिल्लाहरुबाट उम्मेदवार टुंग्याउने गरी छललफल गरिरहेको छ।
यसैविच

गृह मन्त्रीले आक्षेप लगाउँदै सरकार नछाड्ने बताए पनि निर्वाचन आयोगले निर्वाचन सार्नेबारे कुनै जानकारी नआएको प्रस्ट्याएको छ।गृह मन्त्री जनार्दन शर्माले सरकारबाट हट्ने तयारी निर्वाचन आयोगबाट प्राप्त सूचनाका आधारमा स्थगित भएको घोषणा गरेलगत्तै
निर्वाचन आयोगका प्रवक्तलाई पत्रकारले के चुनाव सार्ने तयारी हुँदै छ त भन्ने प्रश्नको खण्डन गर्दै ‘निर्वाचन सार्नेबारे हामीलाई कुनै जानकारी छैन,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो ‘हामी निर्वाचन तयारी अघि बढाइरहेका छौं। उहाँले अहिलेसम्म निर्वाचन सार्ने विषयमा आयोगमा कुनै छलफल समेत नभएको बताउनुभयो ।
तर, आज दिउँसो मन्त्री शर्माले पत्रकार सम्मेलन गरी सरकारको निर्वाचन सार्ने तयारीबारे निर्वाचन आयोगबाट सूचना आएको भन्दै त्यही कारण सरकारबाट नहट्ने घोषणा गर्नु भएको थियो ।यस विषयमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले गिएको छोटो प्रतिक्रिया अनुसार ‘चुनाव सार्ने विषयको कुरा हुँदै नभएको बताउनु भएको छ ।