चीनले अनुदानमा दिएको खोप आजदेखि लगाउन सुरु

फाईल तस्विर !!

काठमाडौं,चैत,२५-सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ ।

मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने छ ।

खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

यसअघि भारतबाट अनुदानमा ल्याईएको १० लाख डोज खोप तथा विश्व स्वास्थ्य संगठनबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले विभिन्न उमेर समुह एवं प्राथमिकतामा परेका व्यक्तीहरुलाई दिईसकेको छ ।

उनीहरुले पहिलो डोजको खोप पाएपनि दोस्रो डोजको खोप बैशाख दोस्रो सातादेखि लगाउने सरकारको योजना छ ।