कोरोना कहर : बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्यु

फाईल तस्विर !!

नेपालगञ्ज,बैशाख,२५-कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको निधन भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका -३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो। सात दाजुभाइमध्ये जहीर कान्छा,एजाज राइँलो र इम्तियाज काइँलो हुन्।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरु सबै नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्थे। एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो। हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। रासस