सरकारबाट नहट्ने माओवादीको निर्णय

निर्वाचन सार्ने षड्यन्त्र भएको आशंका

काठमाडौं, असोज,३१-

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्न षड्यन्त्र गरेको आरोप लगाउँदै सरकारबाट नहट्ने निर्णय गरेको छ । सरकारबाट हट्दा निर्वाचन नहुने जिकिर गर्दै माओवादी केन्द्रले सरकार नछाड्ने प्रस्ट गरेको हो ।

मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जनार्दन शर्माले आफूहरुलाई सरकारबाट हटाएर चुनाव नगर्ने षड्यन्त्र भएकाले सरकारबाट नहट्ने निर्णय लिइएको बताउनुभयो ।

निर्वाचन हुने सुनिश्चितता नभएसम्म सरकार नछाड्ने मन्त्री शर्माको भनाइ थियो ।देउवा सरकारमा सत्तासाझेदारी गरिरहेको माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वाम गठबन्धन गरेपछि उसलाई सरकार छाड्न दबाब परेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पटक–पटक छलफल गरी सरकार छाड्न आग्रह गर्नु भएको थियो । पटक–पटकको दबाबपछि माओवादीले सरकार छाड्ने अनुमान गरिएकै बेला गृहमन्त्री शर्माले अहिलेलाई निर्णय फिर्ता लिइएको जनकारी दिनुभयो ।

त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि पत्रकार सम्मेलन गरी देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताउनु भएको थियो ।