विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)

सुर्खेतमा बस जलाईयो, गुडिरहेको ट्रकमाथी बम प्रहार

काठमाण्डौं,जेष्ठ,१३-

नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो ।

काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् ।मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन् । अधिकांश विद्यालय भने बन्द भएका छन् ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने बन्दको प्रभाव परेको छ ।अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आज बन्द आह्वान गरेको हो ।बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आजको बन्दले कहाँ कहाँ के के भयो । ( अपडेट )

यसैबिच : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् ।हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस आगजनी भएको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको थियो ।

यस्तै : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ । ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते हुनुभएको छ । उहाँको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरी : आज सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्कनु अघि नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

त्यसैगरी : ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ ।अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ ।

यसैबिच : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् । आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिनुभयो । 

यस्तै : बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ ।बन्दको पहिलो प्रभाव उपत्यकाको सवारी आवागमनमा परेको छ ।विप्लवको निशानामा पर्ने डरले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । चक्रपथ क्षेत्रमा तुलनात्मक रुपमा केही बढी गाडी चले पनि काठमाडौं, ललितपुरका भित्री भागमा कम मात्रामा सवारी गुडेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ ।

त्यस्तै : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एउटा मालवाहक ट्रकमा आगजनी भएको छ । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा ना. ७ ख ९४९३ नं.को ट्रकमा आगजनी भएको छ ।

त्यसैगरी : थाहा नगरपालिका–१ खानीगाउँमा पनि एक ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–३ बजनीमा रोकेर राखिएको भारतीय नम्बर प्लेटको लरीमा आगजनी भएको छ ।नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको हो । आगजनी कसले र किन गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठोरले जानकारी दिनुभयो ।

त्यस्तै : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन्। कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन्। 

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिनुभयो ।

उहाँले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, राजमार्ग बन्द गर्नका लागि कार्यकर्ता खटिएको बताउँदै बन्दको अवज्ञा गर्ने जोकोहीलाई पनि नछाड्ने बताउनुभयो ।

अपडेट…..