बम विस्फोट प्रती : कांग्रेसद्वारा दुःख प्रकट

हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल

काठमाण्डौं,जेष्ठ,१३-

प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ ।

कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरेको छ । ‘लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई कांग्रेसले अत्यन्तै दुःखद रूपमा लिएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बम विस्फोटमा परेर अमूल्य जीवन गुमेको छ । यसले शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको मुलुकमा पछिल्ला घटनाक्रमबाट कसैको विजय हुँदैन ।’

कांग्रेसले विज्ञप्तिमा ललितपुरमा केही महिनाअघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ र राजधानीमा आइतबार भएको घटनाले समग्रमा शान्तिपूर्ण संवादभन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रस्ट्याएको समेत उल्लेख गरेको छ ।

यसैबिच : राजधानीमा आइतबार दिउँसो भएका दुई विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ।  घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

काँग्रेसद्धारा जारी विज्ञप्ती