नेपाल सेमिफाइनलमा प्रवेश : बंगलादेशमाथि नेपालको शानदार जित

ढाका,भदौ,२३-

आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाए ।

विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।

बंगलादेशी गोलकिपरको त्यही गल्ती टनिङ प्वाइन्ट बन्यो । एक गोलले अगाडि रहेपछि नेपाली खेलाडीहरूले खुलेर खेले र  दोस्रो हाफमा पिवक्षीमाथि दबाव बनाइराखे।

५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।

६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन गर्‍यो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ ।घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६-६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ । पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।अनलाईन खबरबाट