सरकारले नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि मधेसी मोर्चाको बैठक आज बस्दै

काठमाडौ, चैत ३०-
सरकारले ११ बुँदे नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसबारे आफ्नो आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दैछ। विजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अहिले केहिबेरमा बजेपछि बस्ने बैठकमा सरकारले मंगलबार दर्ता गरेको नयाँ संविधान संशोधन विधेयकमाथि छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो।

कर्णका अनुसार बैठकले नयाँ संशोधन प्रस्ताबबारे आफ्नो आधिकारिक धारणा तय गर्नेछ।सरकारले संविधान संशोधनको पुरानो विधेयक फिर्ता लिएर ११ बुँदे नयाँ विधेयक संसदमा दर्ता गराएपछि मधेसी मोर्चा रुष्ट बनेको छ।मोर्चाका नेताहरुले नयाँ संशोधन विधेयकले केही दिनअघि सरकारसँग भएका अनौपचारिक समझदारी तोडेको आरोप लगाएका छन्।कानुनमन्त्री अजयशंकर नायकले मंगलबार संसदमा अघिल्लो विधेयक फिर्ता लिनुअघि नै प्रक्रिया र विधेयकमा सीमांकनसम्बन्धी प्रस्तावित भाषा नमिलेको भन्दै मधेसी मोर्चाले बैठक बहिष्कार गरेको थियो।

नागरिकताको प्रावधानमा नयाँ मस्यौदा २०४७ को संविधानभन्दा पछि हटेको मोर्चाको आरोप छ ।नागरिकताको हकलाई संविधानले नै सुनिश्चित गर्नुपर्नेमा सत्ता घटकले संघीय कानुनलाई नै निर्णायक बनाएको भन्दै मोर्चाले असन्तुष्टि जनाएको छ।यसअघि मंसिर १४ गते मधेसी मोर्चालाई मनाउन भन्दै सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

तर, उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुने सम्भावना नरहेपछि सरकारले मधेसी मोर्चा र प्रतिपक्षी दल एमालेलाई मनाउन भन्दै नयाँ संशोधन प्रस्ताव दर्ता गरेको हो ।यसैबीच– मधेशी मोर्चाको बैठक पछि आजै दिउँसो २ बजे सघिय गबन्धनको बैठक बस्ने भएको छ । तीनकुनेमा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गराएको नयाँ संशोधन प्रस्तावका बारेमा छलफल हुने छ ।