स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न नेपालगन्ज उपमहानगरको निर्देशन

फाईल तस्विर !!

बाँके,बैशाख,२१-नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड -१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको छ।

कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो ।

बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधीले उच्च जोखिमबीच पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो ।

‘कार्य क्षेत्रमा कुनै समस्या वा कठिनाई भएमा तत्काल जनप्रतिनिधिहरूको सम्पर्कमा आउनुहोला’, उपप्रमुख मगरले भन्नुभयो, तपाईंहरूको कामको उच्च मूल्यांकन भइरहेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाइट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गरेको छ।

सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गरिरहेको छ। आइसोलेसन र हेल्थ डेस्कसँगै होम आइसोलेसनमा बसेका संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ।