नेपाललाई ३-०ले हराउँदै भारत आठौं पटक च्याम्पियन

काठमाडौं,असोज,३१-भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो । भारतको लागि यो उनको ८० औं गोल हो ।

 खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए। 

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ ।

तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ ।नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।