एसियन कप छनोट : नेपाल यू-२३ को अन्तिम टोली घोषणा

एसियन कप छनोट अक्टोबरमा हुँने

काठमाडौं,कार्तिक,१-एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान टोलीमा छन् । फरवार्ड मनिष डाँगीले पनि यू-२३ टोलीमा खेल्नेछन् ।

यसबाहेक राष्ट्रिय टोलीको अनुभव बोकिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । प्रशिक्षक महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।हाम्रोखेलकुदबाट

२३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का