कांग्रेसले गर्यो ७५३ पालिकामा विरोध प्रदर्शन,संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

फाईल तस्विर !!

काठमाडौ,माघ,३-प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको कांग्रेस दोस्रो चरणको सडक आन्दोलनको उत्तरार्धमा पुगेको छ ।

संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा कांग्रेसभित्र अझै दुईथरी मत भए पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्नेमा एकमत छन् । विघटनविरुद्ध दोस्रो चरणको विरोध प्रर्दशनका कार्यक्रमअन्र्तगत शनिबार कांग्रेसले देशभरिका ७ सय ५३ वटै पालिकामा विरोध प्रर्दशन गरेको छ । विघटनलाई संविधान माथिकै ‘कू’ को संज्ञा दिएका कांग्रेसका नेताहरूले संविधान बचाएर मात्र निर्वाचनमा जाने बताएका छन् ।

शनिबारको विरोध प्रर्दशनमा पनि कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुका साथै आफूले गरिरहेको सडक आन्दोलनको औचित्य पुष्टि गर्ने प्रयास गरे । विरोधसभामा बोल्ने अधिकांश नेताहरूले गैरसंवैधानिक कदम सच्याउन र मध्यावधि निर्वाचन हुने सुनिश्चितताको माग गरेका छन् ।

नेताहरूले नेकपाका दुवै समूहतर्फबाट कांग्रेसलाई आएका प्रस्ताव अस्वीकार गर्दै गैरसंवैधानिक कदमको पछि प्रधानमन्त्री मात्र नभइ पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको पनि उत्तिकै भूमिका रहेको आरोप लगाए ।

सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्दामा अदालतले संविधानअनुसार फैसला गर्ने आशा व्यक्त गरेका छन् । विघटनविरुद्ध दोस्रो चरणको विरोधका कार्यक्रमअन्र्तगत कांग्रेसले माघ ८ गते देशभरिका सबै वडामा विरोध प्रर्दशनको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।