निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्नेसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित

काठमाडौं, चैत ९-व्यवस्थापिका–संसदले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने गरी बनाएको मतसीमा थ्रेसहोल्डको व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ ।आज दोस्रोपटक बसेको संसद बैठकले साना दलहरुको विरोधबीच विधेयक बहुमतले पारित गरेको हो ।

यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक भएका छन् । संसद बैठकमा साना दलले विधेयकको विरोध गरेका छन् ।ठूला दलले जबर्जस्ती थ्रेसहोल्ड लगाएको भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।साना दलका नेताहरु सीपी मैनाली, प्रेम सुवाल, एकनाथ ढकाललगायतले ठूला दलहरुले नै राजनीतिक विकृति भित्र्याएको भन्दै साना दललाई आरोप लगाएर यस्तो व्यवस्था गर्न खोज्नु न्यायसंगत नभएको बताउनुभयो ।

यसअघि, राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले अब प्रत्यक्षतर्फ एक सिट जितेको र कुल मतको तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्थासहितको विधेयक संसदमा पठाएको थियो ।यो व्यवस्थाअनुसार समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउने दलले संसदमा प्रतिनिधित्व गरे पनि राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।साना दलले थ्रेसहोल्डमा असहमति जनाएकै कारण राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।