३ बजेसम्म ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं,मंसिर,२१-

दोस्रो चरणमा आज ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको बताउनुभयो ।

अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको समेत शर्माले नेपालखबरलार्इ जानकारी दिनुभयो । ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।

दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको छ।

प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतीस्पर्धामा उत्रिएका छन्।