स्थानीय चुनावको नेतृत्वमा धमाधम छानिँदै महिला

कांग्रेसकी कान्तिका नेपालकै पहिलो महिला नगरप्रमुखमा

  काठमाडौं ,जेठ, ६-

पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् ।

उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला नगरप्रमुखमा चुनिइसकेका छन् ।

जुम्ला चन्दननाथ नगरपालिकामा २८ सय ६ मत हासिल गरेर कान्तिका सेजुवालले नेपालकै पहिलो महिला नगरप्रमुखको परिचय बनाउनुभएको छ ।

कांग्रेसकी कान्तिकाले एमालेका शान्तिलाल महतलाई सात सय ११ मतले पराजित गर्नुभएको हो । करिब दुई वर्षअगाडि भएको विमान दुर्घटनामा पति गुमाएपछि उहाँ राजनीतिमा लाग्नुभएको हो ।

टिकट पाएपछि आलोचित हुनुभएकी कान्तिकालाई यो जितले खुसीसाथै चुनौती पनि थपेको छ । उहाँले आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यले पाँचबर्से अल्पकालीन र २० बर्से दीर्घकालीन योजना तयार पार्नुभएको छ ।

उज्यालो, हराभरा र स्वच्छ–स्वस्थ नगर निर्माण गर्नु मुख्य उद्देश्य रहेको उहाँ बताउनुहुन्छ । संविधानले महिलालाई अधिकार दिए पनि महिलाका लागि विभेदमुखी सामाजिक संरचना तोड्न उहाँले महिलालाई सशक्त ढंगले अगाडि बढाउने लक्ष्य राख्नुभएको छ ।

शिक्षा क्षेत्रमा २६ वर्षको अनुभव भएकी कान्तिका सबै अभिभावकका लागि छोराछोरीलाई स्कुल पठाऊँ भन्ने अभियान सुरु गर्दै हुनुहुन्छ । अहिलेको निर्वाचनमा महिलाको सहभागितालाई उत्साहजनक मान्नुहुने उहाँ राजनीतिमा महिलालाई सशक्त बनाउन उनीहरूलाई तालिम, एक्स्पोजर भिजिट र नेतृत्व विकासको अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ ।आजको पत्रपत्रीकाबाट