आँखा स्वास्थ्य नीति पारित, अब गाउँमै आँखा उपचार

काठमाडौँ, जेठ,५-

आँखा स्वास्थ्य सेवालाई ग्रामीण स्तरसम्म विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ पारित गरेको छ ।

आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढाउनुका साथै उपचार सेवा गुणस्तरीय बनाउने उद्देश्यलाई नीतिले समेटेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आँखा स्वास्थ्य नीति पारित भएपछि आँखा स्वास्थ्य सेवा गाउँगाउँसम्म पुग्ने बताउनुभयो ।

“अझै पनि आँखा स्वास्थ्य सेवा सहरमा मात्र केन्द्रित छ”, मन्त्री थापाले भन्नुभयो, “नीति पारित भएपछि आँखा स्वास्थ्य सेवा ग्रामीण क्षेत्रमा पनि विस्तार हुनेछ । ”

नीतिमा उपचारबाट निको नहुने दृष्टिविहीनको शिक्षा एवं पुनःस्थापनामा सहज पहुँचको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

मन्त्री थापाले आँखा स्वास्थ्य सेवालाई निजी–सार्वजनिक साझेदारीअनुरूप अघि बढाइने भन्दै आधारभूत आँखा उपचारका लागि आँखा स्वास्थ्य नीति कोशेढुङ्गा साबित हुने बताउनुभयो ।आजको गोरखापत्रमा खबर छ ।