काठमाडौं,भदौ,४-यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।
विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिशपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।
सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताउनुभयो ।
‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौं ।’
सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसी ट्रायल खोल्ने विपक्षमा पहिले पनि नभएको भन्दै यसका लागि विभागलाई स्वास्थ्य मापदण्ड बनाएर पठाउन भनिएको बताउनुभयो । ‘सीसीएमसी ट्रायल खोल्नुपर्छ भन्ने पक्षमै छ, तर भीडभाड हुने भएकाले कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भनेर हामीले योजना मागेका छौं,’ उहाँले भन्नुभयो, ‘विभागले मापदण्ड अपनाएर योजना बनाए अनुमति दिन्छौं ।’
विभागले साउन अन्तिम सातादेखि नै ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । कार्यालयहरू पनि त्यसअनुसार तयार भएरै बसेकाले सीसीएमसीको निर्णयलगत्तै ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।