कक्षा १२ को परीक्षा दसैंअघि सक्ने तयारी

काठमाडौं,भाद्र,७-विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ को परीक्षा दशैं अगाडी गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

यसअघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिए। परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति कुरिरहेको छ।