हरितालिका तीज सुरु : आज दर खाने दिन

भोली निराहर व्रत बस्ने

काठमाडौं, भदौ ७-

हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ ।

कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ ।

परापूर्वक कालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।