राप्रपा नेपाल को अध्यक्ष बने कमल थापा

काठमाडौं,फागुन,१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ ।निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।

वि.स. २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा हुनुहुन्थ्यो । शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेको जानकारी दिनुभयो ।

यससँगै थापा अब राप्रपा नेपालका अध्यक्ष बन्नुभएको छ । राप्रपा नेपाल ब्यूत्याएसँगै थापाले पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको स्वीकार पनि गर्नुभएको छ । राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताउनुभयो ।