प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री नयाँदिल्लीमा हुने द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी हुने

काठमाडौं, भदौ ७/

पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो ।

भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेर बिदाई गरेको थियो ।

प्रधानमन्त्रीको बिदाईका लागि सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सरकारी विशिष्ट अधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा हुने द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।आइतबार अपराह्न नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम छ ।