काँग्रेसको वडा कार्यालय स्थापना, एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

नेपालगन्ज ,बैशाख ,२३,
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले बाँकेका विभिन्न ठाउँमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर ६ र ३, खजुरा गाउँपालिका २ र नेपालगन्ज १६ मा वडा कार्यालय स्थापना गरिएको हो ।

चार वटै वडा कार्यालयको पार्टी सभापति किरण कोईराला, सचिव कपिलदेव शर्मा, महासमिति सदस्य महेन्द्र मल्ल ठकुरी र मेघराज ओलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

यसैबीच बैजनाथ गाउँपालिका वडा नम्वर ६ र २ मा एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैजनाथ ६ का स्थानीय एमाले कार्यकर्ता रोशननाथ योगी, कोपिला योगी, जानकी सुनार, सागर बैगार सहित ११ जना तथा वडा नम्वर २ मा टिकाराम शर्मा, धर्मराज शर्मा सहित २० जना प्रवेश गरेको काँग्रेस बाँकेका सचिव कपिलदेव शर्माले जानकारी दिनु भयो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेमा नेपाली काँग्रेसमा पार्टी प्रवेशको लहर चलेको उहाँले बताउनु भयो । मुलुकमा नेपाली काँग्रेसले गरेको योगदान, सिद्धान्त र विचारबाट प्रभावित भएर एमाले, माओबादी, राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको सचिव शर्माको भनाई छ ।