एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

जमुना गुरुङ भारी मतले पराजित

काठमाडौं, असोज ३१-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो ।

उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभयो । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए ।एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् ।

उपाध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन भने महासचिवमा डा.बद्रि केसी विजयी भएका छन् ।

दुई जना सचिवमा डम्बरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् भने कोषध्यक्षमा हिक्मतबहादुर थापा विजयी भएका छन् ।

सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए ।जसमध्ये भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरे भने उहाँकै प्रतिद्धन्द्धी जमुना गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।