राष्ट्रसंघ मानवअधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी

काठमाण्डौं,असोज,३१-

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी १६६ मत ल्याएर विजयी भएको हो।

परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी भएका छन्। नेपाल १६६, कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएर विजयी भएका हुन्।

एशिया प्रशान्त क्षेत्रको अर्को प्रतिस्पर्धी मलेसिया १२९ मत ल्याएर जम्मा एक मतले पराजित भएको छ।संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा चार सदस्य एशिया प्रशान्त क्षेत्रबाट रहने व्यवस्था छ।नेपाल वीजयी भएपछि खुसी साट्दै न्यूयोर्कस्थित राष्ट्रसंघ हेर्ने नियोगमा नेपाली अधिकारी

परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागीका अनुसार नेपाल पहिलो पटक सम्मानित मतका साथ परिषद्मा निर्वाचित भएको हो। बैरागीले भने, ‘बहुराष्ट्रिय कुटनीतिमा नेपालको यो ठूलो उपलब्धि हो, नेपालले अन्तर्राष्ट्रिय जगतमा मानवअधिकारप्रति आफ्नो प्रतिवद्धता जनाउन यो मञ्च निकै महत्वपूर्ण हुनेछ।’

सोमबार नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु भएको निर्वाचन प्रक्रिया एक घन्टामा पूरा भएको थियो।परराष्ट्र मन्त्रालयले यसपाली नेपाल विजयी हुने अपेक्षा गर्दै न्यूयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग बलियो पहल गरेको थियो।

यसमा राष्ट्रसंघमा रहेका नेपाली स्थायी प्रतिनिधी दुर्गा भट्टराईलाई साथ दिन परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा यूरोप–अमेरिका महाशाखाका प्रमुख भरतराज पौड्याल न्यूोयोर्क पुगेका थिए।‘सम्मानित मत ल्याएर नेपाल विजयी भयो, यो ठूलो सन्तुष्टिको विषय हो’, पौड्यालले नेपालखबरसँग फोनमा भने।