डा. गोविन्द केसीविरुद्ध परेको मुद्दामा आज सुनुवाई

केसीका पक्षमा एक सय बढी वकिलले बहस गर्दै

काठमाडौं,पुस,२६-

डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाई हुने भएको छ । हिजो अदालत उपस्थित गराइएका डा केसीको बयान सकिए पनि मुद्दामा सुनुवाई भने आजमात्र हुने भएको हो ।

सर्वोच्चले बयानपछि केसीको स्वास्थ्य स्थितिलाई विचार गरी सुविधाजनक रुपमा आज विहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । केसीका पक्षमा एक सय बढी वकिलले बहस गर्ने छन् । केसीको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी, लेखनाथ भट्टराईलगायत करिब सय कानून व्यवसायीले वकालतनामा गराएका छन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपानेलगायत कानून व्यवसायी भने अवहेलनाको कारबाहीको पक्षमा बहस गर्दैछन् । सर्वोच्च अदालतको आदेशमा सोमबार बेलुकी पक्राउ परेका डा. केसीले हिरासतमै अनशनलाई निरन्तरता दिनुभएको छ । केसीले माग पूरा नभएसम्म अनसन नछोड्ने अडान राख्नुभएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर उहाँले सोमबार १४ औँ अनशन थाल्नुभएको हो ।

डा केसीको समर्थनमा आज पनि प्रदर्शन
माइतीघर मण्डलामा डा केसीको समर्थनमा आज पनि प्रदर्शन हुने भएको छ । अदालतको अवहेलनाको गरेको भन्दै डा केसीलाई अनशन स्थलबाट सोमबार पक्राउ गरिएको थियो ।

सोलीडारिटी फर डाक्टर केसी अलाईन्स लगायत विभिन्न स्वतन्त्र संस्थाहरुले आज १ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने डा गोविन्द केसीका सहयोगी अभिषेकराज सिंहले बताउनुभयो । साभार नेपाललाणीबाट