भारतीय ड्रोनले सीमा नाघेपछि चीनले गर्‍यो कडा विरोध

‘प्राविधिक समस्या’का कारण आफ्नो ड्रोन चीन पसेको भारतको स्पष्टीकरण

काठमाण्डौं,मंसिर,२१-

अनधिकृत रुपमा आफ्नो क्षेत्रमा ड्रोन प्रवेश गराएको भन्दै चीनले भारतसँग विरोध जनाएको छ। चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डका ज्वाइन्ट चिफ अफ स्टाफ झाङ सुइलीले स्थान नखुलाई हालैका दिनमा एक भारतीय ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेर दुर्घटनाग्रस्त भएको बताएका छन्।

उनले सो कदमबाट चीनको क्षेत्रीय सम्प्रभूता अतिक्रमित भएको बताउँदै यसका विरुद्ध कडा असन्तुष्टि र विरोध जनाए। ‘हालै एक भारतीय ड्रोनले चिनियाँ हवाइ क्षेत्रमा अतिक्रमण गर्‍यो र दुर्घटनाग्रस्त भयो। यसले चीनको क्षेत्रीय सम्प्रभूताको हनन भएको छ र हामी यसबारे कडा असन्तुष्टि तथा विरोध जाहेर गर्दछौँ,’ झाङको भनाइ सिन्ह्वाले उधृत गरेको छ।

उता भारतले भने प्राविधिक गल्तीका कारण आफ्नो ड्रोन चीनमा प्रवेश गरेको स्पष्टीकरण दिएको छ। भारतीय रक्षा मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै सिक्किममा भारतीय सुरक्षा फौजले तालिमका बेला सञ्चालन गरेको ड्रोन प्राविधिक समस्याका कारण सीमा नाघेर चीन प्रवेश गरेको बताएको छ।

ड्रोनसँग सम्पर्क टुटेपछि त्यसबारे चिनियाँ सेनालाई जानकारी गराएको पनि सो वक्तव्यमा उल्लेख छ। गत जुन महिनामा चीन र भारतबीच चर्केको दोक्लम विवाद ७० दिनपछि शान्त भएको थियो। एजेन्सी