व्यक्तिगत लगानीमा सरस्वतीको मुर्तिसहित मन्दिर निर्माण

नेपालगंज,माघ,२७-

श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुल कुमार पाठकले आफ्नो व्यक्तिगत लगानीमा मुर्ति स्थापना गर्नुभएको हो ।आइतबार श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा उक्त मुर्तिको स्थापना गरिएको छ ।

शिक्षक पाठकले बिद्यालयको चोतर्फी पर्खाल निर्माण भए आफुले बिद्यालयमा सरस्वती माताको मन्दिरसहितको मुर्ति राखिदिने प्रतिबद्धता अनुसार बिद्यालय परिसरमा मुर्ति स्थापना गर्नुभएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अलि हलवाईले जानकारी दिनुभयो ।

शिक्षक पाठकले भारतको आयोध्याबाट सरस्वती माताको मुर्ति ल्याएर मन्दिर निर्माण गरि स्थापना गर्नुभएको छ । करिब ६० हजार लगानीमा मन्दिरको चारैतिर टायल, स्टीलको प्रयोग गरि निर्माण गरिएको छ ।

बिगतमा बिद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने यस बिद्यालयमा अहिले सबैको सहयोग र साथले बिद्यालय राम्रो बन्दै गएको बिद्यालयका प्रधानाध्यापक मोहम्मद आलमिन राईले बताउनुभयो ।

बिद्यालयमा सरस्वती माताको मन्दिर हुनुपर्ने भएको हुदा उहाँले सबैले सहयोग गर्ने क्रममा शिक्षक पाठकले पनि मुर्तिसहितको मन्दिर स्थापना गर्ने बताए अनुसारको काम गर्नुभएको प्रअ राईले जानकारी दिनुभयो । मुर्तिको स्थापनासंगै आइतबार बिद्यालयमा भण्डारा पनि शिक्षक पाठकको लगानीमा संचालन गरिएको छ ।