रसुवा भोटेकोशी बाढी:मृत्यु हुनेको संख्या हजार नाघ्यौ

फाईल तस्विर ।।

काठमाडौं,भदौ,१३-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी हालसम्म एक हजार तीन जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार चितवनमा ३२१, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।फेला परेका शवको संख्यामा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन्।नेपाली सेनामार्फत हालसम्म दुई हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण तीन हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । बेपत्तामध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका तीन, क्वारेन्टाइन कार्यालयका तीन तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी रहेका छन् ।

प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट एक हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन्।सम्पर्कविहीन हुनेमा ५८३ विदेशी नागरिक तथा विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत रहेका छन्।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ।तीमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना छन्।

हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र तीन हजार ५०९ नेपाली गरी कुल तीन हजार ७८२ जनाको हवाई उद्धार गरेको छ।निजी क्षेत्रबाट समेत काठमाडौं–प्रभावित क्षेत्रबीच २९ वटा उडान सञ्चालन भएका छन्।हाल नुवाकोटमा दुई हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।

सरकारले प्रभावित जिल्लामा नगद राहतसमेत उपलब्ध गराएको छ।रसुवा र नुवाकोटलाई एक-एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ।बुधबार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत सामग्री पुर्‍याइएको प्राधिकरणले जनाएको छ।प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र छ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।

सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर सुचारु भइसकेका छन्।पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।