‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

फाईल तस्विर !!

काठमाडौं,कात्तिक,६-भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ ।

रअ प्रमुख गोयल बुधबार दिउँसो करिब १ बजे भारतीय एअरफोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

सोही विमानबाट गोयल बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । तर, उनको नेपालको छोटो भ्रमणको तरंग भने झन् फैलिँदोक्रममा छ ।

रअ प्रमुख आएको र गएकोबाहेक नेपाल भ्रमणका अन्य सम्पूर्ण गतिविधि गोप्य राखिएको छ । परराष्ट्र मन्त्रालयसमेत गोयलको भ्रमणबारे बेखबर छ ।

हुन त परराष्ट्र मन्त्रालयले नै भारतीय उडानको लागि ‘कूटनीतिक अनुमति’ दिएको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयले कूटनीतिक अनुमति दिएपनि अन्य विषयमा जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।

रअका उच्च अधिकारीको भ्रमणबारे परराष्ट्र मन्त्रालय नै बेखबर भएकोप्रति कूटनीतिक क्षेत्रले सामान्यरुपमा लिएको छैन ।

परराष्ट्रविद् डा. दिनेशचन्द्र भट्टराईले एक भारतीय सुरक्षा निकायको प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्रालय नै बेखबर हुनु कूटनीतिक मान्यताअनुरुप नभएको टिप्पणी गर्नुभयो ।

गोयलको भ्रमणबारे विभिन्न अड्कलबाजी चलेका छन् । विशेषगरी भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको आसन्न नेपाल भ्रमणको पूर्वतयारी, सत्तारुढ दल नेकपाभित्रको पछिल्लो विवादको सूक्ष्म अध्ययन र नेपाल–भारतबीचको सीमा विवादबारे नेपालको राजनीतिक नेतृत्वको भित्रि भावना बुझ्ने प्रयासको रुपमा भ्रमणलाई अर्थ लगाइएको छ । तर, परराष्ट्रविद् डा. भट्टराई यो मान्न तयार हुनुहुन्न ।

सीमा विवादपछि नेपाल र भारतबीचको सम्बन्धमा आएको चिसोपनलाई हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासस्वरुप गोयलको आगमन हुनसक्ने कतिपयको विश्लेषण छ ।

तर, परराष्ट्रविद् डा. भट्टराई एउटा खुफिया संस्थाको प्रमुखको भ्रमणले चिसिएको सम्बन्धमा सुधार नआउने जिकिर गर्नुहुन्छ ।

नेपाल भ्रमणको क्रममा गोयलले उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र गोयलबीच भेटवार्ता भएको पुष्टि गरेपनि अन्य राजनीतिक नेतृत्वले गोयलसँगको भेटवार्ता भएको समाचारको खन्डन गरेका छन् ।

भेटकाक्रममा गोलयले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रेस नोट’मा उल्लेख गर्नुभएको छ ।

नेपाल र भारतको संस्थापन पक्षले गोयलको भ्रमणलाई गोप्य राखेपनि भ्रमणले नेपालको राजनीति फेरि एकपटक तरंगित भएको छ ।ईमेजबाट