वडादशैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै, तलेजु भवानी नखुल्ने

फाईल तस्विर !

काठमाडौं,कार्तिक,७-आज(शुक्रबार) वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।

नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।

सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।

आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याइंदै छ ।

कोरोना महामारीका कारण यस कार्यमा थोरै भन्दा थोरै जनशक्ति प्रयोग गरिने भएको छ ।

आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।

यसैबीच यस पटक वर्षको एक दिन महानवमीका दिन सर्वसाधरणका लागि खुला हुने हनु्मानढोकास्थित तलेजु भवानी कोरोनाका कारण खुल्ने छैन ।