प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा,जेठ,२५-

 

प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिएको प्रदेश सरकारले यसपटक भने भौतिक पूर्वाधारलाई जोड दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।नीतिगत कुरामा भने पहिल्यैका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

पहिला आंशिक बजेट र अहिले पूर्ण बजेटमा मात्रै फरक रहेको र नीतिगत विषयमा कुनै फरक नरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विशेषगरी उज्यालो प्रदेश, सडक, खानेपानी, पर्यटक बढाउने गरी होटल, होम स्टे लगायत पूर्वाधार बढाउने योजना सरकारको नीति तथा कार्यक्रममा समावेश छन् । भौतिक पूर्वाधार, कृषि, सामाजिक, उर्जा, औद्योगिक, जलस्रोत र खेलकुद लगायत क्षेत्रलाई बढी महत्व दिइएको छ । ईमेजखबरबाट