जागिर राजीनामा गरेर चुनाव लड्नेहरु धमाधम विजयी

गोरखा,जेठ,४-
जागिर छोडेर जिल्लाका विभिन्न स्थानीय तहमा चुनाव लडेकाहरुले जित हासिल गरेका छन्। कृषि विकास बैंकको जागिर छाडेर गण्डकी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका होमबहादुर राना निर्वाचित भएका छन्। त्यस्तै जागिर छोडेर उम्मेदवार बनेका अन्य चार जना पनि वडा अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयराज गुरुङ निर्वाचित भए। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर गुरुङलाई पराजित गरेका हुन्। तयराज गुरुङले ज्ञानज्योति माध्यामिक विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए। त्यस्तै नेकपा एमालेका उम्मेदवार देवीबहादुर बस्नेत गोरखा नगरपालिकाको वडा नम्बर १० मा निर्वाचित भए। वस्नेत जिल्ला जनास्वास्थ्य कार्यालयमा कार्यरत थिए। चुनाव लड्नकै लागि उनले जागिरबाट राजीनामा दिएका हुन्। चुनाव लड्नकै लागि जागिर छोडेका र वडा अध्यक्ष जितेका अर्का व्यक्ति हुन् देउबहादुर गुरुङ। गुरुङले गण्डकी गाउँपालिका वडा नं. २ ताङ्लीचोकमा चुनाव लड्न महादेव प्राविको प्रधानाध्यापक पदबाट राजीनामा दिएका थिए। गुरुङले नेकपा माओवादी केन्द्रका एकबहादुर थापालाई हराएका हुन्। त्यस्तै शिक्षक पेशाबाट राजीनामा गरेर वडा अध्यक्ष बनेका अर्का ब्यक्ति हुन दीलिपनारायण थापा । उनले शहिद लखन गाउँपालिका ६ घैरुङको वडा अध्यक्ष हुन स्थानीय चन्द्रकला प्राविबाट राजीनामा दिएका हुन्। उनले पनि माओवादी केन्द्रका अचल गुरुङलाई हराएका हुन्। गोरखा नगरपालिका १ ताप्लेमा पनि शिक्षक पेशाबाट राजीनामा दिएर कांग्रेसको उम्मेदवार भएका रहमतुल्ला मियाँ विजयी भए। उनी ताप्ले गाउँको महालक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। मियाले एमालेका उम्मेदवार देवीप्रसाद श्रेष्ठलाई हराएर वडा अध्यक्ष निर्वाचित भएका हुन्।