काठमाण्डौं,असार,२८-सोमबार अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ।कोटेश्वरमा बसेको बैठकले सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो।
सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि खाँणले भन्नुभयो, ‘भोलि बिहान फेरि शीर्ष नेता बैठक बस्नेछ।’यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन्।
यसैबिच:सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।यस्तै अदालतले संसदीय दलको ह्वीप नलाग्ने आदेशसमेत जारी गरेको छ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न सघाउँदा सांसद्हरुलाई सम्बन्धित दलले अनुशासनको कारबाही गर्न नपाउने फैसला गरेको छ।
प्रतिनिधि सभा विघटन विरुद्ध १४६ सांसदले दायर गरेको रिटमाथि फैसला सुनाउँदै उसले अनुशासन सम्बन्धमा बोलेको हो।
कांग्रेस सांसद् शेरबहादुर देउवालाई एमालेका २६ र जसपाका १२ सांसद्ले हस्ताक्षर सहित समर्थन गरेका थिए।
सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो संसद विघटनको निर्णय खारेज भएको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ। सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।
प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।