ओखलढुंगाले चुनाव जिताएर पठाए यज्ञराज सुनुवारलाई मन्त्री बनाउने एमाले नेता नेपालको उद्घोष

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर २-
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभालाई ओखलढुंगामा सम्बोधन गर्दै नेता नेपालले देशमा अब वामपन्थीको सरकार बन्ने ठोकुवा गर्दै काँग्रेसलाई राम्रो प्रतिपक्षको कुर्सी तयार गरिदिने बताउनुभयो ।

माओवादी नेता नारायण शर्मालाई लिएर चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले देशको समृद्धि र विकासका लागि वामपन्थीको सरकार आवश्यक भएको बताउनुभएको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले कम्यनष्टहरु मिलेर अधिनायकवाद लागु गर्न लागेको भन्ने आरोपको कटाक्ष गर्दै नेता नेपालले लोकतन्त्र काँग्रेसको व्यापार नभएको बताउनुभयो ।

ओखलढुंगाको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न जिल्लाबासीलाई आग्रह गर्दै नेता नेपालले दुइ पटक बहुमत ल्याएको काँग्रेसले विकास भन्दा बढी विनाश गरेको दावी गर्नुभयो । लोकतन्त्र र विकासका लागि वामपन्थीसँग स्पष्ट खाका रहेको भन्दै उहाँले सामाजिक न्याय, विकास र समृद्धिका लागि कम्युनिष्टहरुसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले वामगठबन्धनका उम्मेदवाहरुलाई जिताउन आह्वान गर्दै ओखलढुंगाको विकासमा एमाले र माओवादीका नेताहरु जनताको सारथी भएर काम गर्ने बताउनुभयो । कार्यक्रमलाई गठबन्धनका केन्द्र तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।