चार एलपी ग्यास उद्योग थपिने

फाईल तस्विर !!

काठमाण्डौं,साउन,२८-३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् ।

चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना हुन लागेका छन् । झापामा कन्काई ग्यास उद्योग स्थापनाको चरणमा छ ।

बाराको डुमरबानामा स्थापना हुने एनएन ग्यासको पुँजी ३० करोड र वार्षिक ग्यास रिफिलिङ क्षमता १५ हजार मेट्रिक टन हुनेछ । उद्योगले ग्यासको प्लान्ट खरिद गर्न डेढ महिनाअघि नै प्रतीतपत्र (एलसी) खोलिसकेकोमा केही साताभित्रै ग्यासको प्लान्ट आइपुग्ने उद्योगले जानकारी दिएको छ । ‘असोजतिर ग्यास रिफिलिङ तथा वितरण सुरु गर्छौं,’ नेपाल ल्युबका वरिष्ठ अधिकृत श्रीकृष्ण महर्जनले बताउनुभयो।

अन्य दुई ग्यास उद्योगहरू श्रीराम र जानकी भने कोशी ग्यासका सञ्चालक अजयकुमार नेपाल तथा विजयहरि शर्मासहितका लगानीकर्ताले स्थापना गर्न लागेका हुन्।श्रीराम ग्यास उद्योग धादिङको भूमेस्थानमा स्थापना हुनेछ।

उद्योगमा जग्गाको मूल्यबाहेक रू. १० करोडको लागत हुने कोशी ग्यासका वित्त विभाग सहायक सञ्जित शर्माले बताउनुभयो।उद्योग स्थापनाको सरकारी प्रक्रिया सकिएकाले साउनबाट यसको काम तीव्र बन्ने उहाँले बताउनुभयो।