इन्टर मिलान युरोपा लिगको फाईनलमा, उपाधि भिडन्त सेभियासँग

फाईल तस्विर !!

काठमाडौं,भाद्र,२-इटालीयन फुटबल क्लब इन्टर मिलान यो वर्षको युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

जर्मनीमा गएराती भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले पछिल्लो ९ वर्षमा पहिलो उपाधि जित्ने संभावना बलियो पारेको हो ।

युक्रेन विरुद्धको खेलमा इन्टर ५-० ले विजयी भयो । उसका लागि बेल्जीयन खेलाडी रोमेलु लुकाकु र अर्जेन्टाईनी खेलाडी लौतारो मार्टिनेजले दुई दुई गोल गरे ।

यसैगरी ड्यानिलो डि एम्ब्रोसियोले एक गोल थपे । यो खेलमा गोल गरेका लुकाकुले युरोपा लिगमा लगातार १० खेलमा गोल गर्ने किर्तीमान बनाएका छन् ।

लुकाकुले यो सिजन इन्टर मिलानका लागि ३३ गोल गरेका छन् । सन् २०११ मा क्लब विश्वकप र कोपा इटालीयाको उपाधि जितेको इन्टर मिलानले त्यसयता कुनैपनि उपाधि हात पार्न सकेको छैन ।

इन्टरले अब युरोपा लिगको फाईनलमा स्पेनिस क्लब सेभियासँग खेल्नेछ । पहिलो सेमिफाईनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै सेभिया फाईनलमा पुगेको हो ।एजेन्सी